शालिग्राम नेपाल ।
चितवन, । भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको सिटी हल निर्माण चार वर्ष वितिसक्दा पैतालिस प्रतिशत काम भएको छ ।
२७ महिनामा सम्पन्न हुने गरी २०७७ मा सम्झौता भएको निर्माण कार्य चार वर्ष वितिसक्दा जम्मा ४५ प्रतिशत मात्र काम भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका झपटबहादुर थापाले जानकारी दिनुभयो । तीन पटकसम्म म्याद थप भएको सिट हलको निर्माण सम्झौतामा काम सम्पन्न गर्न सक्नेमा अझै विश्वस्त गर्न नसकिने बताउनुभयो ।
निर्माण सामग्रीको अभाब, कोभिडलगायतको कारणले गर्दा समस्या आएको भन्दै निर्माण कम्पनीले काम नगरेको उहाले बताउनुभयो । पछिल्लो समय छानो छाउनको लागि आवश्यक पर्ने सामग्रीको अभाव र भारतबाट ल्याउनु पर्ने भएकाले ढिलाइ भइराखेको कार्यालयले जानकारी दिएको छ । छानो जस्ता पाताको लागाउने गरी डिजाइन गरिएको सिटी हलमा जस्ता लगाउने फर्माको डिजाइनमा समस्या भएपछि अहिले काम ढिला भएको छ ।
मुल भवनको छानाको काम नभएपछि अहिले गेट निर्माण को काम भइराखेको छ । भरतपुरको मुख्य स्थानमा निर्माण भइरोको हल निर्माण भएपछि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरका कार्यक्रम गर्नको लागि बाहिर जान नपर्ने भएको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडिको ४ बिघा ४ कट्ठा जग्गामा सिटी हल निर्माण भइराखेको छ । दुई हजार मानिस अट्न सक्ने क्षमताको सिटी हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८८८ रूपैयाँ रहेको छ । सिटी हल बनाउन कम्पनी इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवन बीच ०७७ मंसिर १८ गते सम्झौता भएको थियो ।
सिटी हल निर्माणलाई हामीले महत्वपूर्ण उपलब्धीका रुपमा लिएका छौ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । समयमा सम्पन्न गर्नको लागि कार्यालयको तर्फबाट गर्नु पर्ने सहयोग गरेका छौ अझैपनि कुनै समस्या भए त्यसलाई समाधान गर्न महानगरको भूमिका रहन्छ दाहालले भन्नुभयो ।
सिटी हलमा एउटा ठूलो हल र अर्काे तीन सय क्षमताको सानो हल बन्नेछ । सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था गरिनेछ । सिटी हल बनेपछि भरतपुरमा ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो ।