धादिङ । धादिङको गजुरीमा पहिरोसँगै ढलेको रुख माइक्रो बसमा बजारिंदा सात जना घाइते भएका छन् । धादिङबाट काठमाडौंका लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका–५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
माइक्रो बसमाथि रुख खस्दा सात जना यात्रु घाइते भएका छन् । गजुरी–५ जरेखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये सात जना घाइते भएका हुन् । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।