चितवन । चितवनको सिमलतालमा पहिरोमा परी बेपत्ता भएका यात्रुहरुमध्ये बिहीबार थप दुई जनाको शव फेला परेको छ ।
चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा एक जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलमा एक जना महिला गरी दुई जनाको शव फेला परेको हो ।
विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलको १० नम्बर ढोकानेर बिहीबार साँझ ६ बजे अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म फेला परेका २१ जनामध्ये १४ जनाको सनाखत भएको छ भने एक जना महिलासहित ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
अहिलेसम्म नवलपुरमा १५ जना, चितवनमा ५ जना र पश्चिम नवलपरासीमा एक जना गरी २१ जनाको शव फेला परेको हो । तीन जना महिला, एक जना बालक र १७ जना पुरुषको शव भेटिएको हो ।
अहिलेसम्म सर्लाही जिल्लाको बरहुथवा नगरपालिका ३ निवासी १९ वर्षीय रमितकुसर माझी, चितवन माडी नगरपालिका १ बस्ने २२ वर्षीय विकास परियार, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल साह, सीतामणि बेतियाका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतको विहार बेतियाका ३० वर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुरका ४३ वर्षीय प्रमानन्द पण्डित, चितवनको भरतपुर २२ का २३ वर्षीय सुदीप विकको सनाखत भएको छ ।
त्यसैगरी सर्लाही जिल्लाको रामनगर गाउँपालिका ३ निवासी २९ वर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका २ निवासी २८ वर्षीया महिला चन्द्र प्रभा कुमारी चौधरी, रौटहटको परुहा नगरपालिका ६ निवासी ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुड गाउँपालिका ९ निवासी ९ वर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपुर नगरपालिका १० निवासी ४३ वर्षीय किशोरकुमार चौधरी, भारतको सीतामणि खाना बैरगनिहा ९ निवासी २७ वर्षीय विवेक कुमार र रौतहटको बोधीमाई नगरपालिका ७ निवासी २९ वर्षीया महिला अमृता कुमारीको सनाखत भएको छ । यसैबीच नवलपुरका प्रहरीले शव खोजीको लागि स्थानीय माझीलाई समेत परिचालन गरेको छ ।