लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट

चितवन, । चितवन जिल्ला अदालतले गत आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट गरेको छ । जिल्ला अदालतले पत्रकार सम्मेलन गरी एक वर्षमा भएको मुद्दा फस्र्योट विवरण सार्वजनिक गरेको हो । गत आवमा तीन हजार ७८७ मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएकोमा चार हजार ३०४ वटा मुद्दा फस्र्योट गरेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार विष्णु आचार्यले मुद्दा फस्र्योटलाई तीव्रता दिएका कारण अहिले दुई वर्ष नाघेका एउटा मुद्दा पनि नभएको बताउनुभयो । आव २०७९र८० बाट एक हजार ९८७ मुद्दा र दुई वर्ष नाघेका छ थान सरेर गत आवमा आएको थियो । ती सबै मुद्दा गत आवमा फस्र्योट गरेपछि अब दुई वर्ष नाघेका मुद्दा नरहेको उहाँले बताउनुभयो ।

चितवन अदालतमा सबैभन्दा धेरै मुद्दा निर्मला शर्मा सुवेदीले फैसला गर्नुभएको छ । उहाँको एक आर्थिक वर्षमा ५४० मुद्दा फस्र्योट गर्ने लक्ष्य रहेकोमा ७५० फस्र्योट गर्नुभएको थियो । आठ जना न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा भवन अभावका कारण सात जना मात्र न्यायाधीशको इजलास रहेको छ । स्थान अभाव र मुद्दाको चापका आधारमा कर्मचारी कमी भएकाले काम गर्न ज्यादै समस्या भएको न्यायाधीश दयाराम ढकालले बताउनुभयो ।

टिनको टहरोमा इजलास

चितवन अदालतमा भवन अभावका कारण पाँच वटा इजलास टिनको टहरामा राखिएको छ । बर्सातमा पानी चुहिएर भाँडा थाप्दै इजलास चलाउनुपर्ने अवस्था थियो केही महिनाअगाडि मर्मत गरेर चुहिने समस्या हटाइएको छ, श्रेस्तेदार आचार्यले बताउनुभयो । दुई वटा मात्र पक्की संरचनामा इजलास रहेको छ । सात वटा इजलासका लागि १२० जना कर्मचारी आवश्यक भए पनि ७१ जना कर्मचारीले मुद्दाको चापलाई धानेको उहाँले बताउनुभयो ।

हरेक वर्ष नयाँ भवन निर्माणका लागि पहल गरे पनि बजेट निकासा नहुँदा निर्माण हुन नसकेको न्यायाधीश ढकालले बताउनुभयो । कार्यालयको बैठक हल नभएको, सेवाग्राहीलाई पर्खने स्थान अभाव, पार्किङको समस्या, इजलासका लागि चाहिने कागजपत्र राख्न र पुस्तकालयका लागि स्थान अभाव भएको ढकालले बताउनुभयो ।

स्थान अभावकै कारण बाल इजलास निर्माण हुन सकेको छैन । बाल इजलास नभएपछि सामान्य इजलासबाट एक नम्बरका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासबाट मुद्दा सुनुवाइ हुने गरेको न्यायाधीश ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार साउन १ गतेबाट स्वचालित मेसिनबाट मुद्दाको पेसी चढ्ने व्यवस्था सुरु भएको छ । यसअघि कुन मुद्दाको पेसी कुन न्यायाधीशको इजलासमा परेको छ भन्ने जानकारी कर्मचारीले दिने गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट