चितवन । सिमलताल दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरु आज चितवन आउँदै छन् । कार्यदलका सदस्यले घटनास्थलको स्थलगत निरीक्षण गरेपश्चात सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनको सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यदलले घटना हुनुको कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा अध्ययन गर्नेछ । गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको छ ।
उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । सोहि कार्यादेश बमोजिम अध्ययनका लागि कार्यदलका सदस्यहरु चितवन आउन लागेका हुन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदमिा खसालेको थियो ।