चितवन । चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम रहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिनुभयो ।
इन्जिनियर आचार्यले भन्नुभयो, “सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ ।” पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताउनुभयो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताउनुभयो । प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको उहाँले बताउनुभयो ।
वर्षा लागेपछि मुग्लिङ–मलेखु सडकखण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ । बर्सातमा पानीले र हिउदँमा आफैँ गेग्य्रान झर्ने गरेको कार्यालयले जनाएको छ । जमिनको प्रयोगमा आएको फेरबदल, सडक सुरक्षाको मापदण्ड नअपनाउने र यो वर्ष एक ठाउँमा देखिएको जोखिम अर्को वर्ष अर्कै ठाउँमा हुने गरेको छ ।
पानी बग्ने स्थान परिवर्तन गरिदिएपछि नयाँ ठाउँबाट पानी झर्न थाल्दा थुप्रेर बसेको गेग्य्रान झर्ने समस्या केही वर्षदेखि हुन थालेको आचार्यले बताउनुभयो । पहाड खोतलेर छाडेपछि पहिरो झर्छ, घाउ बनाएपछि टाल्नु पर्छ तर पहाड खोतल्ने मर्मत नगर्ने भएपछि कसरी पहिरो रोकिन्छ ? जथाभाबी पहाड खनेका कारण तल पहिरो झरेको उहाँले बताउनुभयो । कालोपत्रे गर्ने समयमा पहिरो रोकथामका उपायसहित निर्माण कार्यमा लाग्ने छौँ । तलको मूल राजमार्गको सुरक्षाका लागि पहाडको टुप्पामा, मूल सडकमा प्रभाव पार्ने स्थानलगायतका ठाउँमा सडक निर्माण गर्दा ध्यान दिएर सुरक्षाको विधि अपनाएमा सम्भावित जोखिम नहुने उहाँले बताउनुभयो ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताउनुभयो । डिभिजन सडक कार्यालयबाट पहिरोको कारण पत्ता लगाउन अध्ययन गरी फर्कनु भएका इन्जिनियर कार्कीले भन्नुभयो, “सिमलतालमा पहिरो जानुको कारण नौ सय मिटरमाथि निर्माण गरिएको सडकको गेग्य्रान झरेको हो । ६५० मिटरको सडक निर्माण गर्दा छ वटा मोड रहेछ । त्यो मोडबाट गेग्य्रान झरेको देखियो । माथिबाट तल डोजरले सडक खन्दै आउने, खन्दा निस्केको गेग्य्रान झाँडी तथा तल पर्ने खोल्सामा फाल्ने गरेको पाइयो । यसरी थुप्रेको गेग्य्रान वर्षा भएपछि एकै पटक तल झर्दा ठुलो असर पारेको देखिन्छ,” उहाँले भन्नुभयो ।