काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । आज (बुधबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णय बारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै झुट बोलेको बताएको पाण्डेले जानकारी दिए । उनले असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिने र विश्वासको मत लिएपछि आउने परिणाम अनुसार अगाडि बढ्ने निर्णय गरेको बताएका छन् ।
पाण्डेले भने, ‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं । संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’
प्रचण्डको ‘ब्रिफिङ : ओलीले षड्यन्त्रको राजनीति गरे
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । उनले ओलीले ढाँट छल गरेर समीकरण फेरेको बताएका छन् । बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद थालेको भनी बाहिर आएका समाचार गलत भएको प्रधानमन्त्रीले बताएको सञ्चारकर्मीलाई जानकारी गराए ।
१७ गते ३ घण्टासम्म भएको कुराकानीमा सरकारको कामलाई सकारात्मक ढंगले अघि बढाउने सहमति भएको भए पनि देउवासँग गएर सहमति गरेको प्रधानमन्त्रीले बैठकमा बताएका छन् । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘१७ गते प्रचण्ड र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो । बाहिर आएका समाचार झूटा हुन् । दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले तीन जना नेता बसौं भन्नु भयो । मैले केपीजी तीन जना बसौं भन्दै हुनुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नु भयो । ढाँट छल भयो ।’ वैठकले संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्ने र पक्षमा मत दिन सबै दल र स्वतन्त्र सांसदलाई आव्हान गर्ने निर्णय गरेको छ ।