काठमाडौँ, । सरकारले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ मनाउने भएको छ । बिहीबार २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मूल समारोह समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने बताएको हो ।
समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले धानको उत्पादन वृद्धि, आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि नियमित रुपमा प्रत्यक वर्ष असार १५ गते विगतको जस्तै गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी भएको बताउनुभयो ।
महानिर्देशक घिमिरेले यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका सहित विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने जानकारी दिनुभयो । उहाँले जलवायु परवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवम् उपलब्ध प्रविधिहरुको प्रचार गरी तीनको अवलम्वन गर्न कृषकलाई सचेत गराई धान उत्पादन र उत्पादकत्व बढाउनुपर्ने यस वर्षको सन्देश रहेको बताउनुभयो ।
उहाँले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव,२०८१ अवसरमा असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने योजना रहेको बताउनुभयो ।
महानिर्देशक घिमिरेले २०८१ असार १२ गतेसम्म देशभर ९.८ रोपाइँ भएको बताउनुभयो । उहाँले कोशी प्रदेशमा ५.६, मधेश प्रदेशमा २.९, बागमती प्रदेशमा १८.३, गण्डकी प्रदेशमा ८.३, लुम्बिनी प्रदेशमा ८.८, कर्णाली प्रदेशमा २३.९ र सुदूरपश्चिम प्रदेशमा २५.० प्रतिशत खेतमा धान रोपाइँ भएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म कुल धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार ८३६ मध्ये एक लाख ३६ हजार ४११ हेक्टर क्षेत्र फलमा रोपाइँ भएको पनि बताउनुभयो ।