काठमाडौं । अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गए राति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए ।
बलिङतर्फ भारतका अर्शदीप सिंहले ३, कुलदिप यादवले २ तथा जसप्रित बुमराह र अक्षर पटेलले समान १(१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८, हार्दिक पाण्डेयले नटआउट २७ र रिषभ पन्तले १५ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २–२ तथा जोश हेजलवुडले १ विकेट लिए । भारतले अब सेमिफाइनलमा इङल्याण्डसँग खेल्ने छ । अष्ट्रेलिया भने बाहिरिने सम्भावना बलियो बनेको छ । आज बिहान हुने अफगानिनस्तान गर बंगलादेशबीचको खेलले अष्ट्रेलियाको भाग्य निर्धारण गर्नेछ । अफगानिस्तानले जिते अष्ट्रेलिया बाहिरिनेछ । सुपर–८ को अन्तिम खेलमा आज विहान यी दुई टोलीबीच खेल हुनेछ ।