आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो । मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ । तर, यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने छन् । प्रधानमन्त्रीको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ । पहिलो पटक मोदीले २०१४ शपथ लिँदा नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । दोस्रो पटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।
प्रधानमन्त्री यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । गएको बुधबार प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।