काठमाडौं । सहकारीको रकम अपचलन छानविन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल विना निष्कर्ष सकिएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबीच आइतबार भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए ।
देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए । तर प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको नेता परियारले जनाएका छन् । ‘गोरखा मिडिया नेटवर्कको नाम मात्र लिएर पुग्दैन । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू को–को हुन् भन्ने पनि उल्लेख नगरी छानबिन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो अहिलेसम्मको अडान यथावत् छ’, परियारको भनाइ छ ।
सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताको तहमा छलफल भएको हो । यद्यपि आइतबारको छलफलमा एमाले अध्यक्ष ओली भने अनुपस्थित रहेका थिए । आजै सरकारले संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ भने प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ । कार्यदल सदस्यहरूका अनुसार आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताहरूबीच पुनः छलफल गर्नेबारे छलफल भए पनि समय तय भइसकेको छैन ।