टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन । बल दम्पतीले गाउँमा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु दुई जना मात्रै जस्ताले बारेको र जस्ताले नै छाएको घरमा बस्दै आएका थिए।
‘पतिको शव पसल रहेको कोठामा र पत्नीको शव भान्सा कोठामा फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले सुनाए, ‘पत्नीको शव रहेको कोठामा बाहिरबाट र पतिको शव रहेका कोठामा भित्रबाट चुकुल लगाएको पाइएको छ ।’ बल दम्पतीका तीन छोरा र एक छोरी छन् । तर उनीहरु काठमाडौँमा बस्दै आएका स्थानीयले जानकारी दिएका छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली मंगलबार साँझ घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट पनि प्रहरी टोली घटनास्थलमा अनुसन्धानको लागि पुगेको थियो ।
मंगलबार दिउँसो बल दम्पती स्थानीयले गर्ने ठाकुर पूजामा सहभागी नभएपछि उनीहरुको हत्या भएको खुलेको हो । उनीहरु पूजास्थलमा नआएपछि छिमेकीले पूजामा किन आएन भनेर फोन गरेका थिए । फोन नउठेपछि पूजा गरिएको बोकाको मासुको भाग लिएर छिमेकी उनीहरुको घरमा जाँदा बल दम्पतीको हत्या भएको अवस्थामा भेटिएका थिए ।