चितवन । नारायणी लिफ्ट नहरको मोटर मोटर चालिस वर्षपछि फेरिएदा वर्षमा तीन पटक पानी छोडिएको छ ।
पुरानो मोटरका कारण वर्षा लागेपछि समयमा पानी छोड्न नसक्दा पश्चिम चितवनका किसानलाई समस्या पर्दै आएको थियो । गत हिउदमा नयाँ मोटर जडान सफल भएपछि वर्षमा तीन पटक नहरमा पानी छोडिएको छ । एक वर्षमा एक पटक मात्र पानी छाडिदै आएको नारायणी लिफ्टमा अहिले हिउदे वाली, चैते वाली र वर्षातको धानबालीलाई पानी छोडिएको नारायणी लिफट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय भरतपुरका इन्जिनिएर कुलराज चालिसेले जानकारी दिनुभयो ।
विगतमा वर्षमा धान रोप्ने समय आउदा समेत पानी छाड्न कठिन हुने गरेको थियो उहाले भन्नुभयो अहिले नयाँ मोटर जडान गरेपछि समस्या हटेको छ । गत वर्ष साउन महिनाको अन्तिम समयमा नहरमा पानी छाडिएको थियो । ढिला गरी पानी छाड्दा धानको विरो वुढो भएर रोप्न नपाएको भरतपुर ८ का किसान जानुका पौडेलले बताउनुभयो । पुरानो मोटर मर्मत गरेर नयाँ मोटर जडान गरेपछि यस वर्ष पुस महिनामा पानी छाडिएको इन्जिनियर चालिसेले बताउनुभयो । धेरै वर्षपछि हिउदमा पानी छाडेको उहाले बताउनुभयो ।
यस वर्ष हिउदमा पानी छाड्दा गहुँ बालीलाई सिचाइ गर्न ज्यादै सजिलो भएको उहाले बताउनुभयो । सुख्खा समयमा पानी नहुदा गहुँमा सिचाइको समस्या हुने गरेको थियो । यस वर्ष नहरको पानी लगाउदा पाउदा गहुँ उत्पादन समेत बढेको स्थानीय गोपाल खनालले बताउनुभयो । नारायणी नदीको पानी मोटरले तानेर नहरमा छाडिदै आएको छ । मर्मतपछि यस वर्ष हिउदको पुस र चैतको अन्तिमदेखि वैशाख एक महिना पानी छाडेको थियो । अहिले छाडेको पानीले मकै बालीलाई राम्रो गरेको कार्यालयले जानकारी दिएको छ ।
सुख्खा मौसममा पानीको आवश्यकता पर्दछ । विगतका वर्षमा पानी नहुदा गहुँ, मकै, हिउदामा लगाउने हाइव्रिड जातको मकै, तरकारी वाली सवैमा समस्या परेको थियो । यस वर्ष पानीको सुुविधा भएपछि सवै वालीले उत्पादन दिएको कार्यालयले जानकारी दिएको छ ।
खगेरी नहरले निकुञ्जको जनावरलाई राहत
निकुञ्जको पोखरी सुकेर जनावरलाई पानी खान समेत समस्या भएपछि पूर्वी चितवनको टिकौलीबाट आउने खगेरी नहरमा छाडिएको छ । टिकौली जंगल हुदै विसहजारी ताल भएर पश्चिम चितवनको गीतानगर क्षेत्रमा सिचाइ हुने खगेरी नहरमा पानी छोडिएको हो । निकुञ्ज भित्र रहेको पोखरी सुकेर जनावरलाई समेत पिउन पानी नभएपछि नहरमा पानी छाडिएको हो ।
नहरमा पानी छोडेपछि सुख्खा भएको पोखरीमा पानी भरिएको र जनावरले पिउन पाएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । नहर माथिबाट वग्दा एक सात आठ सय मिटर तलको पोखरीमा पानी रसाएर आउन थाल्यो । पानीको अभावमा जनावर वास्ती प्रवेश गर्ने, टाढा टाढा जानु पर्ने वाध्यता थियो । अहिले नहरले पानीका स्रोतहरु भरिन थालेको उहाले जानकारी दिनुभयो । खगेरी नहरले पश्चिम चितवनको गीतानगर क्षेत्रमा सिचाइ कम निकुञ्जको जनावारलाई पानीको स्रोत धेरै भएको छ ।
वर्षात नभएको कारण खगेरी नहरमा समेत पानी थोरै भएकाले वालीमा सिचाइ गर्न नपुगेको नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालय भरतपुरका इन्जिनिएर कुलराज चालिसेले बताउनुभयो । खगेरी नहरको मुहानमा वर्षातले पानी वृद्धि भएमा सिचाइका लागि सुविधा हुने उहाले बताउनुभयो । खगेरी नहरको अतिक्रमित जग्गा नियन्त्रण गरी गत वर्ष मर्मत गरिएको थियो ।
यो नहर २३ किलोमिटर लम्बाइ रहेको छ । यस नहरबाट ३ हजार ९ सय हेक्टर क्षेत्रफल सिंचाइ हुदै आएको छ । १२ वटा शाखा रहेको नहर भरतपुर महानगरपालिकाको पश्चिम चितनव क्षेत्रमा सिचाइ हुने गरेको छ । वर्षमा चार महिना सञ्चालन हुने नहरबाट मुख्य धानवालीका लागि मात्र लाभदायक भएको छ ।