काठमाडौँ । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य धेरै जनाको मृत्यु भएको पुष्टि भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
राष्ट्रपति रायसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो । समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए । उद्धार टिमले हेलिकप्टरको पुच्छर पहाडमा ठोक्किएर खसेको अवस्थामा भेटिएको बताएका छन् ।
उद्धार टोलीहरूले सोमबार बिहान पूर्वी अजरबैजान प्रान्तस्थित भग्नावशेषसम्म पुग्न रातभर हिमपात र कठिन भू–भाग पार गरेका छन् । ‘हामी अहिले भग्नावशेष देख्न सक्छौं र स्थिति राम्रो देखिदैन,’ इरानको रेड क्रिसेन्टका प्रमुख पिरहोसेन कोलिभान्डले सरकारी टिभीलाई भने, ‘दुर्घटनास्थल भेटिएसँगै हेलिकप्टरका यात्रुहरूमा जीवनको कुनै संकेत भेटिएको छैन ।’