९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवन राप्ती नगरपालिका ७ वीरेन्द्र नगरकी ९७ वर्षीया तमिसरा पुनमगरको जटिल शल्यक्रिया सफल भएको छ । उमेरका हिसावले असम्भव जस्तै देखिएको पुनमगरको स्तनको क्यान्सरको शल्यक्रिया भएको हो ।

क्यान्सर शल्य चिकित्सक डा. भक्तमान श्रेष्ठ सहितको चिकित्सकको टोलीले शुक्रवार भरतपुरको नारायणी सामुदायिक अस्पतालमा पुनमगरको एक घण्टा ५ मिनेट समय लगाएर सो शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी अध्यक्ष समेत रहनुभएका डा श्रेष्ठले देब्रे स्तनमा २.५ सेन्टिमिटरको गिर्खा देखिएको र त्यसलाई परीक्षण गर्दा क्यान्सर देखिए पछि आफूहरूले शल्यक्रिया गरेको बताउनुभयो ।

“झन्डै सय वर्ष उमेर आफैमा जटिल उमेर हो । शरीरका अङ्गहरू समेत शिथिल हुने यो उमेरमा शल्यक्रिया गर्नु असम्भव जस्तै हो”, डा. श्रेष्ठले भन्नुभयो, “परिवार समेत सहमतिमा आएपछि त्यो जोखिम हामीले मोलेर शल्यक्रिया गरेका थियौँ त्यो सफल पनि भयो ।”

बढी उमेरमा शल्यक्रिया गर्न विशेष त बेहोस बनाउने चिकित्सककै कारण रोकिने गर्दछ । अझ पुनमगरको हकमा फोक्सोमा समस्या र मुटुले समेत पूर्ण काम नगरेको अवस्था थियो । शरीरमा प्लेट लेटको संख्या ५२ हजार भन्दा कम भएका बेला पुनमगरको शल्यक्रिया असम्भव जस्तै थियो । आफूहरूले तीन पाइन्ट रगतको तत्त्व प्लाज्मा दिएर प्लेट लेटको संख्या ६८ हजार पुर्याएपछि मात्रै शल्यक्रिया गर्न आफूहरू तयार भएको डा. श्रेष्ठले बत्ताउनुभयो ।

“कुनै पनि मानिसको ८० हजार प्लेट लेट भन्दा कममा त शल्यक्रिया गर्न नसकिने अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “फिजिसियन, मुटु रोग र फोक्सो रोग विशेषज्ञको रायका आधारमा एनिस्थेसियन (बेहोस बनाउने डाक्टर ) तयार भएपछि शल्यक्रिया सफल भएको हो ।”

शल्यक्रियामा मुटु, फोक्सो विशेषज्ञ सहितको टोली पनि सहभागी थियो । एनेस्थेसिसमा

पुनमगर विस १९८३ मा जन्मनु भएको हो । उहाँको देब्रे स्तनमा सकेण्ड स्टेजको क्यान्सर रहेको थियो । शल्यक्रिया पछि पुनमगरका परिवार पनि आमालाई समय वर्ष बचाउन सकिनेमा ढुक्क हुनुहुन्छ । पुनमगरकी बुहारी टोकली पुनमगर आमाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताउनुहुन्छ ।

“अहिले आमा त ठिक हुनुहुन्छ । यो उमेर मा पनि शल्यक्रिया सफल भयो हामी खुसी छौ”, उहाँले भन्नुभयो । गोरखापत्र बाट

शेयर गरौ

ताजा अपडेट