कार दुर्घटनामा तीन गम्भीर घाइते

हेटौँडा, । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डस्थित मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगननजिक चौतारामा शनिबार बिहान कार दुर्घटना भएको छ ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार बिहान साढे ७ बजे कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साह, रौतहट मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विवेक साह र मकवानपुरको भिमफेदी गाउँपालिका–८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि एम्बुलेन्समा हेटौँडा ल्याउँदै गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । कार अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट