रास्वपाले कांग्रेसलाई भन्यो–माग के हो ? लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन् ।

आज (शुक्रबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानबिन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको बताएका छन् । उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको जिकिर गरे ।

उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे । सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको तीन सहकारीको मात्रै छानबिन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानबिन गर्ने गरी समिति बनाए रास्वपालाई मान्य हुने बताए ।

उनले थपे, ‘अबदेखि नेपाली कांग्रेसलाई मेरो अनुरोध–तपाईंहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को । त्यसैले गर्दा हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस् । अब तपाईहरुको मौखिक अभिव्यक्ति विश्वास गर्न गाह्रो छ ।’ सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको दाबी गरे ।

शेयर गरौ

ताजा अपडेट