कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद अवरोधबारे के गर्ला निर्णय ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने कांग्रेसले जनाएको छ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ ।

सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम घेराउ गरेर बोल्न समेत दिएको छैन । तर कांग्रेस महामन्त्री गगन थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ । कांग्रेसले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको ठहर गरेको छ ।

थापाका अनुसार सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सोमबारको बैठकमा छलफल हुनेछ । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताभएकाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् राखेको छ । देशभरका सहकारीमा समस्या रहेकाले समग्र छानबिन समिति÷आयोग बनाउन सकिने तर व्यक्ति केन्द्रित समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद कायमै हुँदा संसद्को गतिरोध अन्त्य हुन सकेको छैन ।

कांग्रेसले संसद् नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन् । जेठ १ गते ३ बजे सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन् ।

केहि सांसद आउँदा राष्ट्रपति आउँदा अवरोध गर्न नहुने पक्षमा छन् भने, शीर्ष नेताहरु राष्ट्रपतिबाट आउने नीति तथा कार्यक्रम सरकारकै हुने भएकाले अवरोध गर्दा फरक नपर्ने मत राखिरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम बाचन हुने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्दैछ ।

शेयर गरौ

ताजा अपडेट