तथ्य र अध्ययन गरेर इजलासमा उपस्थिति हुनु पर्छ : खतिवडा

काठमाडौ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले कानून व्यवसायीहरू तथ्यका आधारमा पर्याप्त अध्ययन अनुसन्धान गरी इजलासमा उपस्थित होस् भन्ने न्यायाधीसको अपेक्षा रहने बताउनुभएको छ । 
ज्ञानपुञ्ज स्कुल अफ लिडरसीपद्वारा शनिबार काठमाडौँमा आयोजित नवप्रवेशी कानून व्यवसायीलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा बताउनुभएको हो । कार्यक्रममा पूर्व न्यायाधीश खतिवडा प्रमुख अतिथि हुनु हुन्थ्यो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल बार एशोसिएशनका अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले आफ्नो मन्तव्य राख्दै कानून व्यवसायी प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पेशाप्रति ईमानदार बन्न नवप्रवेशी कानून व्यवसायीहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा ३१ औं अधिवक्ता तहको परीक्षामा सर्वोत्कृष्ट हुने ओमप्रकाश घिमिरे, तृतीय हुने दीक्षा खाँण र पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारी तथा प्रशिक्षकहरु एवं सहयोगी अन्यलाई कदर पत्र एवं सम्मानपत्र प्रदान गरिएको थियो । साथै ३१ औं अधिवक्ता तहको परिक्षामा उतीर्ण गरेका नवप्रवेशी कानून व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले कानून व्यवसायको सुरुवात, संचालन र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  अधिवक्ता बावुराम दाहालले कानून व्यवसायीका अवसर र चुनौतीहरुको विषयमा प्रशिक्षण दिनुभएको थियो । यस किसिमको प्रशिक्षणले नवप्रवेशी कानून व्यवसायीहरूलाई सफलताको मार्गमा अघि बढाउन अत्यन्त लाभदायक भएको प्रतिक्रिया नेपालकी पहिलो दृष्टिविहीन महिला अधिवक्ता रोशनी अधिकारीले बताउनुभयो।

ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपका कार्यकारी अध्यक्ष अधिवक्ता हरिप्रसाद डुम्रेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा उहाले यस संस्थाले अधिवक्ता तहको परिक्षा तयारी, अन्तरवार्ता तयारी , नमुना अदालत अभ्यास, गतिशील कानून व्यवसायी कसरी बन्ने लगायतका कक्षा ,तालिम, गोष्ठी संचालन गर्दै आएको कुरा बताउनुभयो । साथै, निकट भविष्यमा मध्यस्थता तालिम, मेलमिलाप तालिम, मस्यौदा लेखन तथा बहस कला तालिम संचालन गर्ने योजना अघि सारेको ज्ञानपुञ्जले अत्याधुनिक प्रविधिको प्रयोग गरि ३२ औं अधिवक्ता तहको अनलाईन तथा भौतिक कक्षाहरु संचालन गरेको छ।

कार्यक्रममा उपत्यका बार इकाईका अध्यक्ष एवं पदाधिकारीहरू, कानून व्यवसायीहरू, प्रशिक्षक एवं प्रशिक्षार्थीहरू गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट