नेकपा एसप्रति ओलीको टिप्पणी : जनमतबाट दक्षिणपन्थी अवसरवाद अस्वीकृत

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनमा प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्ताधारी ६ दलबाट घेराबन्दी भएको स्मरण गरेका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले प्रतिपक्षका विरुद्ध बनेको गठबन्धन अलोकतान्त्रिक र अराजनीतिक रहेको उल्लेख गरेका हुन् ।

‘सत्ताधारी ६ दलको घेराबन्दी रहेको थियो । हाम्राविरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो । ठाउँठाउमा कार्यकर्ताको हत्या र बुथ कब्जा, निर्वाचन आयोगलाई पनि प्रभावित पा¥यो’ उनले भने, ‘निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नु परेको थियो ।’

घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको एक नम्बर पार्टी बन्नु चानचुने नभएको स्मरण गरे । गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको ओलीको दाबी छ । ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ । कांग्रेससँग एमालेको मतान्तर दोब्बरभन्दा बढेर गयो बढेको छ । हामी ७७ जिल्लामध्ये ४४ र ७ वटामध्ये ६ वटामा पहिलो पार्टीको रुपमा स्थापित हुन सफल भयौं ।’

नेकपा एकीकृत समाजवादीलाई संकेत गर्दै उनले आम निर्वाचनमा जनमतबाट अस्वीकृत भएको दाबी गरे । ‘कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट एक किसिमले अस्वीकृत नै भयो ।’

उनले थपे, ‘हाम्रो पार्टीविरुद्ध स्थापित गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो र खण्डित भयो । जनताबाट प्राप्त यी उपलब्धिलाई कमजोर मान्न मिल्दैन । तर अपेक्षाभन्दा न्यून हो। यसका पछाडि सत्ता पक्षको घेराबन्दी मुख्य भएपनि पार्टीभित्र प्रकट भएको व्यक्तिवाद,असहयोग अन्तरघात र अराजनीतिक प्रवृति पनि जिम्मेवार छ ।’

ताजा अपडेट