काठमाडौँ । अमेरिकामा सामाजिक सञ्जाल प्लाटफर्म टिकटक प्रतिबन्ध हुनसक्ने विषयले अहिले सामाजिक सञ्जाल क्षेत्र तरंगित बनेको छ । अमेरिकी संसदको तल्लो सदनले यो साता एक विधेयक पारित गरेसँगै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका एक कदम अघि बढेको छ ।
टिकटकलाई स्वामित्व बिक्री वा प्रतिबन्ध लगाउने कानुनको पक्षमा ३२६ र विपक्षमा ६५ सांसदहरूले यही बुधबार मतदान गरेका थिए । आफ्ना ३६ राज्य र संघीय रूपमै सरकारी स्वामित्वका डिभाइसहरूमा अमेरिकाले यसअघि नै कुनै न कुनै रूपमा टिकटकको प्रयोग रोकिसकेको थियो । पछिल्लो कानुनमार्फत अमेरिकाले टिकटकको प्यारेन्ट कम्पनी ‘बाइटडान्स’लाई सो एपको स्वामित्व छोड्न वा अमेरिकी एपस्टोरहरूमा प्रतिबन्धको सामना गर्ने व्यवस्थासहितको कानुन पारित गरेको हो ।
उक्त कानुन अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित हुन बाँकी नै छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै औपचारिक रूपमा लागू हुनेछ । संसद्ले पठाउनासाथ आफूले तुरून्तै सो कानुनमा हस्ताक्षर गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरिसकेका छन् । तथापि, उनीसम्म पुग्न केही समय लाग्ने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । कान्तिपुर बाट