बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, रोकिएला नयाँ सत्ता समीकरणको प्रयास

काठमाडौं २१ फागुन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको खटपटसँगै सोमबार विहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान ८ बजे बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुने चर्चाबीच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा व्यस्त छन् । कांग्रेससँग विवादकै बीच प्रधानमन्त्री प्रचण्डले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यसैबीच सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । आइतबार अपराह्न सभापति देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् ।

पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् । उपप्रधानमन्त्री खड्काले सरकारको नीति तथा कार्यक्रम र महासमिति बैठकपछिको अवस्थाबारे सभापति देउवासँग छलफल भएको बताएका छन् ।

उनका अनुसार छलफलमा नीति र कार्यक्रम र प्रिबजेट छलफलबारे अर्थमन्त्री प्रकाशशरण महतले सबै मन्त्रीलाई सँगै राखेर सभापति देउवालाई ब्रिफिङ गरेका थिए । ‘सभापति ज्यूले सबै मन्त्रीलाई बोलाउनु भएको थियो । सबैजसो मन्त्री सहभागी थियौँ । अर्थमन्त्रीको ब्रिफिङ बाहेकका विषयमा छलफल भएन,’ उनले भने । बैठकमा सहभागी एक मन्त्रीले भने प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको भन्दै त्यसका लागि तयार रहन भनेका थिए । ‘मन्त्री फेर्न प्रचण्डजीले जोड गर्नु भयो । अब मेरो होइन प्रचण्डजीको मन जितेर देखाउनुस् । होइन भने पद जान्छ है,’ देउवाको भनाइ उधृदत गर्दै ती मन्त्री सुनाए । नेकपा एमालेले गठबन्धनमा खेल्न खोजेको भन्दै आफू गठबन्धन जोगाउन लागिपरेको देउवाको भनाई थियो ।
नयाँ समीकरणको सम्भावना स् रवि उपप्रधानसहित गृह, राष्ट्रियसभा अध्यक्ष एमालेलाई
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अविश्वास गहिरिँदै जाँदा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता गठबन्धनको सम्भावना बढेर गएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा हिजो ९आइतबार० तीन घण्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको स्रोतले दाबी गरेको छ ।

नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्रीको पोर्टफोलियोमा सत्तामा प्रवेश गर्नेछन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहने छन् । त्यस्तै, नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउने स्रोतले जानकारी दिएको छ । ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमति रहेका बुँदामा पनि सहमति जनाउने निश्चित भएको छ ।

ओलीले संक्रमणकालीन न्यायका असहमति रहेका बुँदामा सहमति जनाएसँगै यससम्बन्धी विधेयक अनुमोदनका लागि सोमबार कानुन समितिको बैठक बस्ने भएको छ । यादवको घरमा भएको लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग एमाले उपाध्यक्ष बिष्णु पौडेल र माओवादी उपमहासचिव बर्षमान पुनले फेरि छलफल गरेका छन् । स्रोतका अनुसार ओलीको बालकोटस्थित निवासमा माओवादीका पुन र एमालेका पौडेल मिलेर नयाँ सत्ता गठबन्धनको अन्तिम खाका बनाउन जुटेका थिए ।

शेयर गरौ

ताजा अपडेट