राष्ट्रियसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरीउपर छानबिन हुने

काठमाडौँ २५ पुस । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।

शेयर गरौ

ताजा अपडेट