काठमाडौं २० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘उम्मेदवारको बिषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौं । हामीले २३ गते १९ सिटमै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’
६ केन्द्रीय सदस्य थप
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
न्यौपाने कोशी, पाण्डे बागमती, भण्डारी सुदूरपश्चिम, शाह कर्णाली र यादव मधेस प्रदेशका पूर्वअध्यक्ष हुन् । कार्की भने झापा अध्यक्ष हुन् । यस्तै एमालेले शुक्रबार सर्लाहीमा भएको घटनामा एक जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका–६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । शान्ति सुरक्षाको जिम्मा पाएको सत्तापक्ष आफैं हुलदंगा गर्ने काममा लागेको एमालेको आरोप छ । ‘सरकारले जनताको जीउधनको सुरक्षा गर्न सकेन, घटनाप्रति दुःख व्यक्त गर्छौं,’ उनले भने ।