उद्धारको काम सकियो, एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने

रुकुमपश्चिम, १९कात्तिक । शुक्रबार राति गएको भूकम्पको कारण रुकुमपश्चिममा भएको क्षति अन्तर्गत मानवीय खोजी र उद्धारको काम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले खोज र उद्धारको काम पूरा भएकाले अब राहत र पुनर्स्थापनाको काम अघि बढेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सबै निकायको सक्रिय सहयोगमा भूकम्पका कारण हराएकाहरूको खोजी र उद्धारको काम सफलतापूर्वक गरेर उपचारको समेत उचित प्रबन्ध मिलाएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पन्तले भूकम्प गएको रातिदेखि नै समन्वयका विभिन्न काम सुरु गरेर १८ गते बिहानैबाट भूकम्पबाट प्रभावित क्षेत्रमा जिल्लास्थित सुरक्षा निकाय, चिकित्सकसहितको स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलहरू र स्थानीयको सक्रिय सहभागितामा मानवीय खोज तथा उद्धार कार्य सम्पन्न भएको बताउनुभयो ।

खोज तथा उद्धारको कार्य पश्चात् भूकम्प प्रभावित र पीडितलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको मोडलमा काम गर्ने उहाँले उल्लेख गर्नुभयो । आजैबाट राहत वितरणको काम सुरु हुने समेत बताइएको छ ।

कुनै व्यक्ति, सङ्घ संस्था तथा निकायले राहत उपलब्ध गराउन चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय (जिल्ला प्रशासन कार्यालय) मा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवाल र सहायक विपद् व्यवस्थापन सम्पर्क व्यक्ति दिलीप बुढाथोकीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विपद् व्यवस्थापन राहत सामग्रीहरू स्थानीय तह र वडामा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको समेत प्रजिअ पन्तले जानकारी दिनुभयो । हालसम्म भूकम्पका कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ । ३०९ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये २७ जनालाई थप उपचारका लागि सुर्खेत, नेपालगन्ज र काठमाडौँ पठाइएको छ । १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालमा अहिले २६ को उपचार भइरहेको छ ।

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भूकम्पले रुकुमपश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विभिन्न स्थानमा ठुलो क्षति पुगेको छ । मानवीय क्षति भने आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भएको छ ।

शेयर गरौ

ताजा अपडेट