नेपालगन्ज, १८ कात्तिक । जाजरकोटकाे भुकम्पमा परेर गम्भीर घाइते भएकाहरु उपचारका लागि नेपालगन्ज पुग्ने क्रम शुरु भएको छ।
एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याईएकाे हाे।
शनिबार बिहान ३ बजे एम्बुलेन्स बाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका जाजरकोटका सात जना घाइते एम्बुलेन्सबाट भेरी अस्पताल पुरयाईएका छन् भने १० जनालाई हवाई जहाजबाट ल्याईएकाे छ ।
उनिहरु सबैको उपचार शुरु गरिएको भेरी अस्पतालका सुचना अधिकारी डा संकेत कुमार रिसालले बताउनुभयो ।
जाजरकोट भेरी नगरपालिका-३ का ४८ वर्षीय बिमल कुमार कार्कीलाई भेरी अस्पतालमा सबैभन्दा पहिले पुर्याईएकाे थियो ।
उहाँलाई लिएर एम्बुलेन्स बिहान करिब आठ बजे नेपालगन्ज भेरी अस्पताल पुगेको थियोे ।
अस्पताल पुर्याएलगत्तै घाइतेको उपचार शुरु गरिएको अस्पतालका फाेकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले अन्य घाइतेहरु पनि केही बेरमा पुग्ने सुचना प्राप्त भएको जनाउँदै उपचारको व्यवस्था मिलाईएको बताउनुभयो ।
भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खालि राखिएको छ।