चितवन २ कातिक । पत्रकार तथा साहित्यकार द्वारिका नेपालको स्मृतिमा साहित्य सङ्गम चितवनले स्मृति विशेषाङक प्रकाशित गरेको छ ।
साहित्य सङ्गम द्वारा प्रकाशित नेपालको स्मृतिमा वाह्रौ विशेषाङक नौलो राँको विहीबार विमोचन गरेको हो । साहित्य सङ्गमका पूर्व अध्यक्ष समेत रहनु भएका नेपालको २०७८ असोज ३१ गते भएको अप्रत्याशित असमाहिक निधन भएपछि सस्थाले उहाँको सम्झनामा विशेषाङक नौलो राँको प्रकाशन गरेको प्रधान सम्पादक शशिकिरण रेग्मीले बताउनुभयो ।
नेपालका वुवा नीलप्रसाद नेपाल, श्रीमती पार्वती नेपाल, भाइ शालिग्राम नेपाल सहित उपस्थित हुनु भएका सवैले एकैपटक विमोचन गर्नु भएको थियो । साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक श्रष्टा एलवी क्षेत्रीले कविता लेख्नु र कविता वुझ्नु फरक विषय भएको बताउनुभयो । आफूलाई कवि हो भनेर नभनी कविताको गहिराइमा पुगेर लेख्न सक्ने क्षमता द्वारिकामा भएको उहाले बताउनुभयो ।
समालोचक उदय अधिकारी, रमेश प्रभातले नेपालको सरलता र असहजलाई सहज बनाउने क्षमताले नै उहाँको व्यक्तित्व उचाइमा पुगेको बताउनुभयो । उहाँको लेखन शैली उत्कृष्ट र यथार्थवाद भएको बताउनुभयो । कार्यक्रममा साहित्यकार, प्रा.डा. होमनाथ सापकोटा, प्रेम रिमाल, डा. धनेश्वर भट्टराई, गणेश रमण, बालकृष्ण थपलियाले नेपालको व्यक्तित्वका विषयमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपालका वुवा नीलप्रसाद नेपालले समयको महत्वलाई वुझेर काम गर्न आफूले दिएको शिक्षाको पालना छोराले गरेको बताउनुभयो ।
साहित्य सङ्गमले प्रकाशित गरेको विशेषाङकमा विभिन्न साहित्यकारले नेपालको व्यक्तित्वका बारेमा धेरै पक्षहरुलाई समेटेर चर्चा गरिएको छ ।