पाँचसय रुपियाँ जरिवाना तिरेर रिहा भए धर्म गुरु श्रीनिवास

जनकपुर १८ असोज । गौ हत्याविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्म गुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।

सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिएका छन् ।

उनले भने, ‘श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेपछि आइन्दा यस प्रकारको सामाजिक सद्भाव बिग्रिने खालका हिंसात्मक गतिविधि नगर्न,नगराउनसहित ५०० रुपैयाँ जरिवाना दिएर रिहा भएका छन् ।’

असोज १२ गते जनकपुरधाममा भएको गौ हत्याविरुद्ध विरोध प्रदर्शनमा श्रीनिवासले गौ हत्या गर्नेलाई खुकुरीले हान्नुपर्छसहितका आपत्तिजनक अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा उनको सो अभिव्यक्ति भाइरल भएपछि सुनसरी प्रहरीले मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको थियो । जनकपुरधामा अभिव्यक्ति दिएका कारण उनलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको थियो ।

प्रजिअ पाण्डेले श्रीनिवासको बयान उद्धृत गर्दै भने, ु‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ, अब आइन्दा यस्ता गल्ती गर्ने छैनौं ।’ उनले अब यस प्रकारको गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि रिहा गरिएको बताएका छन् ।

यसअघि आचार्य श्रीनिवासको रिहाइको माग गर्दै बुधबार बजरंग दलले सडक जाम गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेको थियो भने रामानन्दीय वैष्णव सम्प्रदायले आज दिउँसो जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय विरोध प्रदर्शन गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । यसमा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट