चितवन निकुञ्जको गैडा कोसीमा पठाइयो

चितवन, ९ असोज । चितवन राष्ट्रिय निकुञ्जबाट दुई गैँडा पुष्पा र अञ्जली आज कोसी टप्पु वन्यजन्तु आरक्षमा पठाइएको छ । दुई गैँडालाई छुट्टाछुट्टै खोरमा राखेर कोसी पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार आज बिहान ११ः३० बजे ती गैँडा खोरमा राखेर कोसी पठाइएको हो । गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा टोली कोसी गएको छ । वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोली समेत गैँडासँगै कोसी गएको छ ।

कोसीमा प्राविधिक समितिले गरेको अध्ययनमा बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो । सुरुमा यहाँबाट लगिएका गैँडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ । कोसीको पथरी सेक्टर कार्यालयनजिकै आरक्ष सुरक्षार्थ सेनाको पोस्टनजिक गैँडा राखिनेछ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिनेछ ।

केही वर्षअघि उक्त निकुञ्जमा १३ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गएको वैशाख ३१ गते निकुञ्जको लामीताल क्षेत्रमा छाडिएका दुई गैँडा कोसी पठाइएको बताए ।

ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ । अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष ६ महिनाका छन् । ती गैँडा अहिले पनि मानवबस्तीमा आएर दुःख दिने गरेकाले पठाइएको होे ।पछिल्लो गणनाअनुसार निकुञ्जमा ६९४ गैँडा रहेको तथ्यांक छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्यांकमा समावेश गरिएको छैन ।

पछिल्लो गणनाअनुसार देशभर ७५२ गैँडा रहेका छन् । हाल पठाइएका गैँडा हुर्किएपछि थप भाले पनि पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ । निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा समेत गैँडा पठाइएको थियो । यस निकुञ्जबाट सन् १९८६ देखि गैँडा स्थानान्तरण गर्न थालिएको हो । सुरुआतमा तीन भाले र एक पोथी गैँडा पठाइएको थियो । सोही वर्ष डिसेम्बरमा पाँच भाले र चार पोथी गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

उनका अनुसार सन् १९९१ मा २५, सन् १९९९ मा चार गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । यस्तै, सन् २००० मा २० मध्ये १६ गैँडा बर्दिया राष्ट्रिय निकुञ्ज र चारवटा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो । सन् २००१ मा पाँच, २००२ मा १०, २००३ मा १०, २०१६ मा पाँच गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।

यसैगरी, सन् २०१७ मा पाँच गैँडा शुक्लाफाँटा र तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । पठाइएका मध्ये ४५ भाले र ५५ पोथी गैँडा थिए । रासस

शेयर गरौ

ताजा अपडेट