वीरगञ्ज, १८ फागुन :
नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ ।
फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था पूरा भएको यज्ञका प्रेस संयोजक महेश दासले राससलाई बताउनुभयो ।
सो महायज्ञमा पाँच लाख धर्मावलम्बी हवन गर्ने अनुमान गरिएको छ । महायज्ञलाई सफल बनाउन सात सयभन्दा बढी स्वमंसेवक भारतको महाराष्ट्र, राजस्थान र मुम्बईलगायतका ठाउँबाट आइसकेको आयोजक समितिका संयोजक तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
सो यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द गरिएको छ । सो अवधिभरि वीरगञ्जमा मदिरा, माछा, मासु बिक्री वितरणमा समेत रोक लगाइएको छ । महायज्ञ सफल बनाउन ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पारिएको छ ।
यज्ञस्थलमा निर्माण गरिएको २५१ कुण्डीय यज्ञशाखामा एक हजार २०० जना साधकले साधना गर्नेछन् भने सो अवसरमा व्रतबन्ध, विवाह, दीक्षालगायतका १२ संस्कारको निःशुल्क व्यवस्था गरिएको छ । राष्ट्रको समृद्धि, मनुष्यको शीघ्र स्वास्थ्य लाभ, धर्मको उत्थानको लागि हुन गइरहेको सो महायज्ञ स्थलको यज्ञकुण्डको पुजन शान्तिकुञ्ज हरिद्धार भारतबाट आएका ब्रह्मवादी महिला श्यामा राठौरको टोलीले पूजापाठ गरेका थिए । (रासस)