गोहत्याको विरोधमा नारायणी किनारमा भदौ २३ गते धर्मसभा हुने

माधव सापकोटा
भदौ १५ , चितवन ।
धरान लगायत देशका विभिन्न ठाउँमा भइरहेको गोहत्याको विरोधमा भदौ २३ गते शनिवारका दिन चितवनको नारायणी नदी किनारमा धार्मिक सभा हुने भएको छ। नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा वैदिक धर्म परिषद्का संस्थापक अध्यक्ष स्वामी जगन्नाथाचार्यसहित त्रिपुरेश्वर शिवालय शरद्पुरमा चितवन, नवलपुर , नवलपरासी , तनहुँका प्रमुख धार्मिक संघ – संस्था, मठ – मन्दिर, गुम्बाका प्रतिनिधिहरूको आज बसेको गोवंश रक्षार्थ विशेष धार्मिक भेलाले सभा सम्पन्न गर्न स्वामी ज्ञानानन्द सरस्वती महाराजको नेतृत्वमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि,स्वामी रमणान्द गिरि,लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य र निम्बार्क दर्शन केन्द्र गैंडाकोटका अध्यक्ष आचार्य हरिशरण आचार्य लगायतका सन्तहरू र विशिष्ट विद्वान्हरूसहितको निर्देशन मण्डल चयन गरेको छ।
यस्तै टंकनाथ पौडेलको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति र ११ वटा उपसमितिसमेत गठन गरेको छ। सो भेलाले आज नै १९५ सदस्यीय मूल आयोजक समिति पनि गठन गरेको छ। सभा भदौ २३ गते शनिवार दिउसो १ बजे हुने र सभा हुनपूर्व चौबिसकोठी , दियालो बङ्गला , धर्मचोक र भृकुटी चोक ,गैंडाकोटबाट ॐकार एवम् राष्ट्रिय झन्डा, प्लेकार्ड सहितको र्याली निक्लने प्रचारप्रसार उपसमितिका सदस्य प्रताप कंडेलले जानकारी दिनुभयो।

शेयर गरौ

ताजा अपडेट