चितवन, ८ भदौ ।
नेकपा(एमाले)का केन्द्रीय सदस्य एवम् भरतपुर महानगरपालिकाका ईन्चार्ज जगन्नाथ (जेएन) थपलियाले स्पष्ट एजेन्डा , नीति र सबल नेतृत्व भएका कारण देशको सम्वृद्धिकाे सपना एमालेबाट मात्रै पूरा हुने दावी गर्नुभएको छ ।
नेकपा(एमाले) भरतपुर-१२ नम्बर वडा कमिटीकाे आज सम्पन्न बैठकमा मन्तब्य राख्दै नेता थपलियाले समाजवादकाे स्पष्ट कार्ययोजना सहित जनताको वहुदलिय जनवादको मार्गदर्शक सिद्धान्त बाेकेर पार्टी केपी ओलीको नेतृत्वमा अघि बढेकाेले ढुक्क र उच्च मनाेवलका साथ अघि बढ्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जनताका आधारभुत समस्याहरु पहिचान गरि तिनको समाधानका लागि सक्रिय हुन स्थानीय कमिटीलाई निर्देशन दिनुभयो ।
सबै पुराना दल एकै खालका हुन् भनी समाजमा जवरजस्ति भ्रम सिर्जना गर्न खाेजिएकाेले एमाले र अरुलाई एउटै तराजुमा राख्न नमिल्ने उहाँको तर्क छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेलका कारण एमालेलाई सत्ता बाहिर रहने परिस्थिति बनाईएकाे दावी गर्दै थपलियाले २०८४ काे निर्वाचन पछि एमालेले एक्लै सरकार निर्माणकाे तागत राख्ने धारणा राख्नुभयाे ।
भरतपुर महानगरमा शिक्षा, स्वास्थ्य र अन्य जनजिविकाका सवालमा सेवा प्राप्तिमा जनतालाई सहजिकरण गर्न पार्टी कमिटी क्रियाशील रहने थपलियाले बताउनुभयो ।
साथै हरेक सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भ्रष्टाचारमा पार्टीले खवरदारी गर्ने उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा पार्टी प्रदेश कमिटी सचिव बिजय सुवेदी, प्रदेश सल्लाहकार भैरव रेग्मी , जिल्ला कमिटी सदस्य भक्ति गाैतम, शेषमणि नेपाल, लेखराज पन्त , अन्जु शर्मा , महानगर उपसचिव निशा अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो ।
वडा कमिटी अध्यक्ष तीलप्रसाद न्याैपानेकाे अध्यक्षता भएको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर र स्थानीय आवश्यकताका आधारमा वडा तहमा अभियान, प्रशिक्षण र संगठन सुदृढीकरण कार्यक्रम चलाउने निर्णय गरेकाे छ ।