काठमाडौँ ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनु भएको छ ।
मंगलबार एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताउनु भएको हो । उहाले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताउनुभयो ।
ओलीले तत्कालीन समयमा आफूहरूलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको उल्लेख गर्नुभयो । उहाले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले संगठन विस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीका रूपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताउनुभयो ।
उहाले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गर्नुभयो।
अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोप लगाउनुभयो । नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको बताउनुभयो । उहाले पार्टीका नेता, कार्यकर्ताहरू कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह गर्नुभयो ।