चितवन, ९ साउन । भरतपुरबाट माडी प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकमा मर्मत कार्य सुरु भएको छ ।
माडी नगरपालिका जानको लागि एउटै मात्र सडक भत्केर आवत जावत गर्नको लागि समस्या भएपछि मर्मत सुरु भएको हो । विश्व सम्पदा सुचिमा सूचिकृत निकुञ्ज भित्रको सडकमा काम गर्न जटिलता रहेको छ । जटिलताको वावजुत पनि सडकमा भएको खाल्टो, भत्केको स्थानमा पुरेर यातायात सहज बनाउन लागिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिनुभयो ।
नगरपालिकाले आन्तरिक स्रोतबाट सडक मर्मत कार्य गरेको छ । सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको छ । भरतपुरबाट प्रवेश गर्ने कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने प्रमुख महतोले जानकारी दिनुभयो ।
हुलाकी सडकखण्ड अन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । केन्द्र र प्रदेशबाट बजेट माग गरेपनि नपरेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सडक मर्मत गर्न लागेको उहाले बताउनुभयो ।
एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको छ । सडकखण्डको स्तरोन्नति र कालोपत्रेका लागि प्रत्येक पटक चुनावी नारा बन्दै आएको छ । निर्वाचनको समयमा सडकको विषय उठेपनि अन्य समयमा जनप्रतिनिधिले यसको वहस गर्ने गरेका छैनन् ।
यहाँ सडक कालोपत्रेका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्याङन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताउनुभयो । सडक निर्माणका लागि पटक–पटक सघीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।
निकुञ्ज र माडी नगरपालिकाको समन्वयमा अहिले मर्मतको काम भइराखेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले जानकारी दिनुभयो अहिले नगरपालिकाले सडकको मर्मत गर्ने काम गर्दछ पछि झाडी फाड्ने र सरसफाइ निकुञ्ज र मध्यवर्तीले गर्नेछ उहाले भन्नुभयो ।
कच्ची सडकबाट वारपार गर्दा वन्यजन्तुको जोखिम धैरै हुने गरेको छ । कालोपत्रे भएमा छिटो यात्रा गर्न सक्ने र जोखिम कम हुने स्थानीयले बताएका छन् । निकुञ्ज पारी माडी नगरपालिका र वारी भरतपुर महानगरको क्षेत्रको मुख्य सडक कालोपत्रे भएको छ । निकुञ्ज भित्रको मात्र सडक कालोपत्रे बाँकी रहेको छ ।
भरतपुरबाट माडी ठोरी हुदै बीरगञ्ज सम्म पुग्ने यो सडक छोटो यात्रा रहेको छ । भरतपुरबाट भारतको सिमावर्ती क्षेत्र भिखना ठोरी जानको लागि यही मार्ग छोटो छ । तर निकुञ्ज भित्रको बाटो सहज नभएको कारण कष्टकर यात्रा गर्न वाध्य भएको छ ।