चितवन महोत्सव २०७५ सम्पन्न

चितवन , ४ माघ

चितवन महोत्सव २०७५ सम्पन्न भएको छ ।

१२ संस्करणको चितवन महोत्सवमा करिब पाँच लाख भन्दा बढि दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । संयोजक प्रधानका अनुसार १० दिनसम्म सञ्चालन भएको महोत्सवमा २५ करोड भन्दा बढिको आर्थिक कारोबार भएको छ ।

पुस २५ देखि माघ ४ गतेसम्म चलेको महोत्सवमा शिक्षा, उर्जा, पर्यटन, महिला उद्यम, साहित्य जस्ता विविध विषय समेटेर कुल ८ वटा गोष्ठी आयोजना गरिएका थिए । यस्तै महोत्सव अन्तर्गतनै पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुडफेस्टिबल आयोजना गरिएको थियो । समापन समारोहमा महोत्सवमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मुल आयोजक समितिका सदस्य सचिव चुननारायण श्रेष्ठलाई सम्मान गरिएको छ ।

प्रमुख अतिथिको रुपमा रहनुभएको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन महोत्सवलाई राष्ट्रिय स्तरको महोत्सव भएको बताउनु भयो । चितवन पर्यटनको भूमि भएको भन्दै महोत्सवले चितवनको पर्यटनलाई थप पर्यटन विकासमा टेवा पुराएको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सदस्यहरु विजय सुवेदी, घनश्याम दाहाल, नेकपा चितवनका नेता यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका नेता रामकृष्ण घिमिरे, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिकाका प्रमुख अधिकृत नेत्र प्रसाद सुवेदी लगायतले मन्तव्य राख्नु भयो ।

प्रत्येक दुई वर्षमा नारायणी नदि किनारमा हुने चितवन महोत्सवलाई पुस २५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट