काठमाडौं, १ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थ व्यवहार अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले हैजा तथा झाडापखाला लगायत पानीजन्य रोगहरूबाट बच्न पानी उमालेर वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउन आग्रह गरेको छ ।
गर्मी तथा वर्षायाममा विशेषगरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
पानीजन्य रोगबाट बच्न खानेपानीलाई सधैँ सफा भाँडामा ढाकेर राख्ने, सफा भाँडाले मात्र खानेपानी निकाल्ने, खानेकुरालाई राम्ररी पकाएर मात्र खाने, सडेगलेको, बासी र झिँगा भन्केका खानेकुरा नखाने, खानेकुरा सफा भाँडाले ढाकेर राख्न मन्त्रालयको आग्रह छ ।
खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दिसा पिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिरी सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेण्डसम्म मिचिमिची हात धुने र यदि साबुन पानी उपलब्ध नभएमा स्यानिटाइजर प्रयोग गर्दा हैजा लगायत पानीजन्य रोगबाट बच्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार पानीजन्य रोगबाट बच्न दिसा पिसाब चर्पीमा मात्र गर्ने,बालबालिकाको दिसा पिसाबलाई पनि चर्पीमा फाल्नु पर्छ । हैजा तथा झाडापखालाका लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जान मन्त्रालयको सुझाव छ । चिकित्सकका अनुसार घरमानै झाडापखाला भएमा एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउनु पर्छ ।
यसैगरी, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्की खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खान चिकित्सले सुझाव दिएको छ ।