सुरक्षा बराल-
ललितपुर , २९ असार /
महिला एवम् किशोरीहरुकाे शसक्तिकरण र अधिकारकाे लागि क्रियाशील छाेरी संस्थाले दशाैं बार्षिकाेत्सव मनाएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यतामा शुक्रबार ललितपुरमा सम्पन्न कार्यक्रममा दुईवटा पुस्तक विमोचन समेत गरिएको थियोे ।
कार्यक्रमको उद्घाटन मन्त्री आचार्य र विशेष अतिथिहरुले छोरीको सेन्टरमा आबद्ध किशोरी तथा महिलाहरुले आफैले उत्पादन गर्नुभएको मैनबत्ती प्रज्वलन गरेर गर्नुभएको थियो ।
कार्यक्रममा छोरीमा आबद्ध महिला तथा किशोरीहरुको रोजगारीका कथाहरु समेटिएको “दोहोरीदेखि बेकरीसम्म”
र “रिक्लेमिङ द जर्नि अफ वुमेन इन ईन्टरटेन्मेन्ट सेक्टर न्यारेटिभ्स फ्रम गर्ल्स एण्ड वुमेन ” नामक अङ्ग्रेजी पुस्तक बिमाेचन गरियो ।
पुस्तकहरुमा छोरीको सेन्टरमा बस्ने बालिका तथा महिलाहरुको जीवनसंघर्षका कथाहरु र उनीहरुमा आएका परिवर्तनको बिषयहरु समेटिएको छ ।
पुस्तकले संघर्षमा जीवन बिताईरहेका महिला तथा किशारीहरुलाई मार्गदर्शन र प्रेरणा हुने बिश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा छोरी संस्थामा आबद्ध भएका किशोरीहरुले आफ्ना अनुभव र बिचार राखेका थिए ।
“मेरो लागि छोरी भगवान हो , मेरो लागि छोरी प्रेरणाको स्रोत हो , मेरो लागि छोरी आमाबाबु हो, मेरो लागि छोरी काँडाबिच फुलेको फुल हो , मेरो लागि छोरी स्वतन्त्र हुन सिकाउने स्थान हो ” एक सहभागीले भन्नुभयो ।
मन्तव्यको क्रममा छोरीमा आबद्ध भएर आफुमा भएको परिवर्तनको विषयमा सुष्मा (परिवर्तित नाम)ले आफ्नो बिचार राख्दै भन्नुभयो , “छोरीमा आबद्ध हुनभन्दा पहिला मेरो जीवनमा मैले केहि गर्न सक्दिन बेकारको जिन्दगी भएको , आफु छोरी हुनुमा निराश भएको जस्तो लाग्थ्यो तर छोरीमा आबद्ध भएपछि आफुमा नेतृत्व क्षमता, आफुमा धेरै अवसर भएको र आफु एक उदाहरणको रुपमा रहेको जस्तो अनुभुती हुन्छ ।”
त्यसैगरी अर्का सहभागी देवकी (परिवर्तित नाम) ले संस्थाले दिएको तालिमले आफुलाई सशक्त बनाएको बताउनुभयाे ।
भन्नुभयो , छोरी संस्थाका म्याडमहरुसंग पहिलो पटक सात दिनको तालिम लिदा पनि एकशब्द नबोलिकन घर फर्केकाे थिएँ तर दोस्रो पटकको तालिमले हिम्मत आएर आज नेतृत्व तहमा पुगेकी छु । ”
त्यसैगरी रुस्मा(परिवर्तित नाम)ले छोरी संस्थाका माध्यमबाट आफुले पुनर्जीवन पाएकाे धारणा राख्नुभयाे ।
“मलाई पुनर्जीवन दिएर , यसरी विभिन्न जोखिममा रहेका महिला तथा किशोरी र बालिकाहरुको लागि नेतृत्व तहमा ल्याउनुपर्छ , सशक्तिकरण आवश्यक भनेर अवसर सिर्जना भयो ” उहाँले भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री आचार्यले छोरी संस्थाले गरेको कार्यलाई सराहनीय भन्दै पुस्तक हेर्दा यसले अन्यलाई पनि काम गर्न हौसल्ला प्रदान हुने बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले छोरीको कार्यलाई सकारात्मक रुपमा आफुले चिनेको बताउनुभयो । त्यस्तै बिशेष अतिथि ललितपुर उपमाहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले छोरी संस्थाले धेरै बालिका तथा महिलाहरुको जीविकोपार्जनमा सहयोग पुर्याएको र त्यसमा अझ थप प्रेरणादायि काम गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा १०० जना भन्दा बढी सहभागी थिए ।
यस वर्षको उत्कृष्ट अवार्डको लागि संस्थाको नियमअनुसार मतदान प्रक्रिया बाट कोमल पाण्डेलाई बेस्ट अवार्ड नगद सहित सम्मान गरीएको थियो ।