पूर्वका तीन जिल्लामा धेरै वर्षा सतर्क रहन प्रशासनको अनुरोध

मोरङ २९ असार । सुनसरी, मोरङ र सप्तरीमा अति ठूलो वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटर भन्दा बढी पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै मौसमविद्का अनुसार सप्तरीको बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी–पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ ।

आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔं ।’

ताजा अपडेट