सञ्चार मन्त्रालयका सचिव राउत विमानस्थलबाटै पक्राउ

काठमाडौँ २४ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा राउतको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो । भौतिक मन्त्रालयमा शाखा अधिकृत छँदा राउतले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनी अहिले थुनामा छन् ।

शेयर गरौ

ताजा अपडेट