चितवन,२४ असार । पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड नौ घण्टापछि सञ्चालनमा आएको छ ।
नारायणगढ मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपरान्ह ४ बजे सुख्खा पहिरो आएर राजमार्ग अबरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियतामा पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिनुभयो ।
पहिरो आउनेक्रम नरोकिएकाले तीन घण्टा पन्छाउने काम गर्न सकिएको थिएन । शनिबार खसेको पहिरो अर्को नयाँ स्थानबाट झरेको हो । पानी नपरेको समयमा पहिरो खसेकाले जुनसुकै वेला खस्न सक्ने प्रहरीले जानकारी दिएको छ । राति १ बजेर १५ मिनेटको समयमा अवरुद्ध राजमार्ग खुलाइएको थियो । पहिरो पन्छाउन ढिला भएको समयमा रोकिएका यात्रुलाई प्रहरीले हिडाएर वारपार गराएको थियो ।
आइतबार साँझसम्म कुनैपनि स्थानमा पहिरो नझरेको प्रहरीले जानकारी दिएको छ ।
पहिरो जाने सम्भावित स्थानहरुमा डोजर तयारी अवस्थामा राखिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र जलवीरेमा रहेको अस्थायी प्रहरीले राजमार्गको सुरक्षाका विषयमा विशेष ध्यान दिने गरेको छ ।