काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक भर्खरै शुरु भएको हो । बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा सहभागी हुन मोर्चामा आबद्ध दलका नेताहरू आलोकनगर पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो । समाजवादी मोर्चा बनेपछि प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभामा कम्तीमा ५३ सिट देखिएको छ । मोर्चाको तर्फबाट प्रतिपक्षीविरुद्धको सम्भावित रणनीति पनि शनिबारको बैठकले बनाउन सक्ने बताइएको छ ।
असार ४ मा घोषित मोर्चाका नेताहरुमा नेकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन् । उनीहरु चारै जनाले समाजवादी मोर्चाको घोषणापत्रमा हस्ताक्षर गरेका थिए । मोर्चा घोषणा भए पनि यसलाई अघि बढाउने प्रारुप अहिलेसम्म चार दलले बनाउन नसकेको अवस्थामा बैठक बस्न लागेको हो ।