चितवन, २३ असार । । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन् ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरैभन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताए ।
अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रूपमा रहेपनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि ध्रुबीधरण हुन नसकेको उनले बताए । उनले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने बताए ।
महासचिव पोखरेलले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे । अहिले नेकपा एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरू एमालेसँग डराएर गठबन्धन बनाउन बाध्य भएको उनले बताए । उनले निश्चित व्यापारिक घरानाहरूलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको बताए ।