कांग्रेस जिल्ला सभापतिहरूको भेला काठमाडौंमा

काठमाडौँ २१ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरू काठमाडौंमा भेला भएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय र जिल्ला सभापतिहरूको संयुक्त बैठक बिहीबार दिउँसो सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ ।

१४ औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरुपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । तर भेलामा सभापति शेरबहादुर देउवा सहभागी हुने छैनन् ।

 

भेलामा महामन्त्रीद्वय थापा र शर्माले नै जिल्ला सभापतिहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने, जानकारी लिने र निर्देशन दिने कार्यक्रमहरू रहेको कांग्रेसले जनाएको छ । पार्टीमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका महामन्त्रीद्वय थापाले यसअघि अब आफूहरूको जिम्मेवारीमा पर्ने काम गर्न सभापतिलाई पर्खिएर नबस्ने अभिव्यक्ति दिएका थिए ।

पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निणर्य लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भएपनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । सभापति देउवाले बुधबारमात्रै केन्द्रीय समितिको बैठक २७ असारदेखि बस्ने गरी आह्वान गरेका छन् । निकट नेताहरूकाअनुसार बुधबार बिहान बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले जिल्ला सभापतिहरूसँग भेलाबारे जानकारी गराएका थिए ।

कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग मीन विश्वकर्माले साधारणतया पार्टीले आयोजना गर्ने अभ्यास भएपनि यसपटक संगठन व्यवस्थापनको जिम्मेवारीका हिसाबले महामन्त्रीहरूको संयोजनमा जिल्ला सभापतिहरूको भेला हुन लागेको बताए । ‘यो भेला पार्टीले गरेका निणर्य कार्यान्वयनका लागि बोलाइएको हो । मूलतः क्रियाशील सदस्यताको विषयमा छलफल केन्द्रित हुन्छ,’ उनले भने, ‘भेलामा सभापतिज्यू सहभागी हुनुहुन्न । महामन्त्रीहरूबाटै सहजीकरण र सम्बोधन हुन्छ ।’

 

महामन्त्रीद्वय थापा र शर्माकै संयोजनमा हालै मात्र कांग्रेसले अनलाइनबाट क्रियाशील सदस्यता वितरण सुरू भएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले भेलाका लागि क्रियाशील सदस्यता, सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय, विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न जिल्ला सभापतिहरूसँगको बैठक बोलाइएको जनाएका छन् ।

भेलामा आउँदा जिल्ला सभापतिहरूलाई आफ्नो जिल्लाअन्तर्गतका विभिन्न जानकारी र वडातहसम्मको सम्मेलन गर्नेबारेको योजना समेत साथ लिएर आउन निर्देशन गरिएको छ । कान्तिपुरबाट

शेयर गरौ

ताजा अपडेट