चितवन समाचार डटकम
१७ फागुन । चितवन पोष्ट दैनिकका संस्थापक एवम् प्रवन्ध सम्पादक जीवराज अर्यालको शुक्रबार निधन भएको प्रति पत्रकार सम्बद्ध विभिन्न संघसंगठनले दुःख व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले शोक वक्तव्य जारी गर्दै शाखाका सदस्य एवं चितवन पोष्ट दैनिकका प्रबन्ध सम्पादक अर्यालको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताउनु भएको छ ।
अर्यालको निधनले जिल्ला शाखा स्तब्ध भएको जनाउँदै अध्यक्ष खतिवडाले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
यसैगरी प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, प्रेस सेन्टरका अध्यक्ष प्रकाशमणि ज्ञवाली र जनपत्रकार संगठन, चितवनका अध्यक्ष होमनाथ न्यौपानेले संयुक्त शोक वक्तव्य जारी गर्दै अर्यालको निधन प्रति दुःख व्यक्त गर्नुभएको छ ।
शोक वक्तव्यमा चितवनमा छापा पत्रकारिताको निरन्तर सञ्चालन र संस्थागत बिकासमा उहाँले पुर्याउनुभएको योगदान चीरस्मरणीय रहने उल्लेख गरिएको छ ।
साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।