केरुङ्गा खोलाको संरक्षण सीमाङकन सुरु

 

चितवन, १४ असार । भरतपुर महानगरपालिका भएर वग्ने केरुङ्गा खोला संरक्षणका लागि चौध करोड रुपियाँ विनियोजन गरिएको छ ।
महानगरपालिकाको मध्य भागबाट रापती नदीमा मिसिने यो खोलको क्षेत्र अतिक्रमण वढ्न थालेपछि यसको संरक्षण संगै सौन्दर्यकरण गर्न लागिएको हो । यस वर्ष चौध करोड बजेट विनियोजन गरेपछि सौन्दर्यकरणका लागि ३ अर्व रुपियाँ लाग्ने गुरु योजनामा उल्लेख गरिएको छ । यस क्षेत्रमा डुङ्गा चलाउन मिल्ने गरी दाँया बायाँ साईकल ट्रयाक र ठाउँ ठाउँमा पार्क हुने गरी योजना निर्माण गरिएको छ ।
खोलाको जमिन अतिक्रमण रोक्ने, संरक्षण गर्ने र सौन्दर्यकरणको प्रारम्भिक काम गर्दै लैजाने तयारी भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । सीमा निर्धारण कार्यको विहीबार शुभारम्भ गरिएको छ ।
प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेको उल्लेख गर्नुभयो । भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाईका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उहाँको भनाई थियो ।
सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको प्रमुख दाहालले बताउनुभयो । व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पतिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वधार निर्माण हुने उहाँको भनाई छ ।
करुङ्गा खोलाको सीमाङकन कार्य बिहिबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङकनको कार्य सुरु भएको हो । सीमाङकन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो । अहिले पुङ्गी खोलाको सीमाङ्कनको काम भईरहेको छ ।
केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रकृया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताउनुभयो । संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उहाँको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने ईन्जिनियर शिवहरि अधिकारीले जानकारी दिनुभयो ।

फोटो क्याप्सन ः केरुङ्गा खोला संरक्षण र सीमाङकनको लागि पिल्लर गाड्दै महानगर प्रमुख रेनु दाहाल । फोटो ः शालिग्राम नेपाल

 

शेयर गरौ

ताजा अपडेट