काठमाडौं । वीर अस्पतालका सात सय जनरल बेड निःशुल्क उपलब्ध हुने भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुहुँदै सो कुराको जानकारी दिनुभएको हो ।
बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।
मन्त्री बस्नेतको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले निर्णय गर्दै आजबाट आइसियू र क्याबिन बाहेकका सात सय जनरल शय्या निःशुल्क दिने निर्णय गरेको हो ।
यसअघि अस्पतालले प्रतिबेड दुई सय रुपियाँ शुल्क लिने गरेको थियो । सरकारले बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिष्ट्रारमा डा.ज्ञानेन्द्र शाह र डिनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।