चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
आवश्यक ५१ वटा सूचकहरु पुरा गरी वडालाई शुक्रबार बालमैत्री घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो । विस २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । आर्थिक वर्ष ०८३÷०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ । बालबालिकालाई मुल प्रभाहिकरण गर्नुपर्छ भन्ने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत राखेको छ ।
प्रमुख अतिथि महानगरपालिका प्रमुख दाहालले वडाका अध्यक्ष प्रकाश दवाडीलाई घोषणा प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगर प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाले मानव विकास सूचाङ्कलाई अगाडि बढाउनु पर्छ भनि भौतिक पूर्वाधार मात्र होईन सबै क्षेत्रलाई दीगो विकासको लक्ष्यअनुसार अघि बढाईरहको प्रमुख दाहालको भनाई थियो ।
भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो ।
उपप्रमुख अधकिारीले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती थप उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधै सबै पक्ष क्रियाशिल हुनुुपर्ने बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, विभिन्न वडाध्यक्षहरु, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडाका अध्यक्ष प्रकाश दवाडीको अध्यक्षमा सम्पन्न भएको थियो ।