चितवन १९ जेठ । चितवनको नारायणी नदी नियन्त्रणका लागि गरिदै आएको तटबन्धन कार्यका लागि बजेट निकासा नहुदा निर्माण कार्य प्रभावित बनेको छ ।
चारवटा खण्डमा विभाजन गरेर नारायणी नदीको पुलबाट दक्षिण मेघौली गोलाघाटसम्म निर्माण कार्य भइराखेको तटवन्धनमा बजेटकै अभाव भएको हो । स्रोत सुनिश्चितता भएको तर निर्माण कार्यको लागि बजेट निकासा नभएको कारण समयमा काम सम्पन्न हुन नसक्ने देखिएको छ । ‘काम गरेका ठेकेदार कम्पनीले भुक्तानी पाएका छैनन् हामीले यस विषयमा धेरै पहल कदमी गरेका छौ तर प्रयाप्त बजेट निकासा हुन सकेको छैन’ नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शंकर वुढाथोकीले जानकारी दिनुभयो ।
ठुलो आयोजना भएकाले यसमा लगानी धेरै रहेको छ । तटवन्धनका लागि आवश्यक सामग्री पाउन कठिन हुने, सामग्री जुटाएर काम गर्दा बजेट नपाउने यस्तो समस्या परेको कार्यालय प्रमुख गशेण मरासिनीले जानकारी दिनुभयो । ठेकेदारले उधारोमा सामग्री ल्याउने, मजदुरले तलब नपाउने जस्ता समस्याबाट निर्माण कम्पनी गुज्रेका छन् । ‘कम्पनीसंग भएको पैसाले साना काम गर्न सक्लान तर ठुलो लगानी गर्नको लागि सक्दैनन्’ उहाले भन्नुभयो ‘त्यसको असर काममा ढिलाइ हुने गर्दछ । ’
निर्माणको लागि पैसा नपाउने हो भने स्रोत सुनिश्चित गर्न हुदैन उहाले भन्नुभयो बजेट निकासा नहुदा ठेक्का सम्झौताको म्याद थपिदै लैजानु पर्ने लागत वृद्धि हुने गर्दछ । नदी नियन्त्रणको काम समयमा गर्न सकिएन भने निर्माण गरिएको संरचना समेत वाढीले वगाइदिन सक्दछ । त्यसैले संवेदनशील क्षेत्रमा गरिएको निर्माण कार्यमा बजेट निकासा आवश्यक रहेको कार्यालय प्रमुख मरासिनीले बताउनुभयो ।
कुन क्षेत्रमा कती लगानी र प्रगती
नारायणी नदीको रामघाटदेखि काभ्रेघाट ५ किलोमिटर क्षेत्रका लागि एक अर्व १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस क्षेत्रमा २० प्रतिशत काम सम्पन्न भएको छ । यो तीन वर्ष भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ । यस क्षेत्र नारायणगढ बजारबाट ५ किलोमिटर दक्षिणमा रहेको छ ।
त्यस्तै गरी मदन भण्डारीको शव भेटिएको स्थान गाजीपुरदेखि हिरापुरसम्म ५ किलोमिटर लम्बाइको यो तटवन्धनका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसको प्रगती १० प्रतिशत मात्र भएको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै गरी सिसैदेखि वालुवासम्मको साढे ५ किलोमिटर लम्बाइको यो तटबन्धनका लागि ३७ करोड रुपियाँको ठेक्का सम्झौता भएको छ भने यसको प्रगती १० प्रतिशत रहेको कार्यालयले जानकारी दिएको छ । बालुवादेखि गोलाघाट नारायणी र रापती नदीको संगम स्थल क्षेत्रमा साढे २ किलोमिटर तटबन्धनका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यस क्षेत्रमा ३० प्रतिशत काम सम्पन्न भएको छ ।
पाँच वटा ठेक्का सम्झौता मध्य नारायणी नदीको पुलबाट उत्तर तर्फको सि बीच मोडलको तटबन्धन कार्य भर्खरै सम्पन्न भएको छ । यसको लम्वाइ ६४० मिटर रहेको थियो । अन्य क्षेत्रको तटबन्धनको काम गर्न कठिन भएको कार्यालयले जानकारी दिएको छ । समयमा बजेट निकासा हुन नसकेमा म्याद थप्नु पर्ने र लागत समेत वृद्धि हुदै जाने छ ।
विभिन्न प्याकेजमा काम भइराखेको यहाँ ग्याविन जाली सहित कंक्रिट प्लेट राख्ने, ठुला ढुङ्गा राख्ने, गिटीको ड्याम निर्माण गर्नेलगायतको काम भएको कार्यालयका सूचना अधिकारी वुढाथोकीले जानकारी दिनुभयो । विभिन्न प्याकेजमा काम भइराखेको ठेक्काको काम गत मंङसिरदेखि फागुनबाट निर्माण कार्य सुरु भएको थियो । निकुञ्ज क्षेत्रमा निर्माण गर्नु पर्ने भएकाले कानुनी प्रकृया पूरा गरेर काम गर्न कठिन हुने कार्यालयले जानकारी दिएको छ । निर्माणको लागि ठुलो मात्रामा गिटी वालुवा आवश्यक पर्ने भएकाले इआइए गरेर नजिकैको खोलाबाट ल्याउन अनुमती पाएको कार्यालय प्रमुख मरासिनीले बताउनुभयो ।