चितवन । जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरमा ढिलो गरे अंग्रेजी माध्यमको पुस्तक आउदा बिक्री हुन नसकी गोदाममा थन्किएको छ ।
कक्षा ६ र ७ को अंग्रेजी माध्यमको पुस्तक ढिलो गरी आएपछि विक्री नभएर गोदाममा थन्किएको जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख तोयनाथ खतिवडाले जानकारी दिनुभयो । ‘विगतका वर्षहरुको तुलनामा यो वर्ष समयमै पुस्तक आएका हुनाले बिक्री बढेको छ ।’ उहाले भन्नुभयो ‘नेपाली माध्यमको पुस्तक समयमै आए पनि अंग्रेजी माध्यमको पुस्तक समयमै नआउँदा गोदाममै थन्किन पुग्यो ।’
समयमै अंग्रेजी माध्यमको पुस्तक नआउँदा अंग्रेजी माध्यम चलाएका सामुदायिक विद्यालयहरुले अन्य पब्लिकेसनको पुस्तक राख्न बाध्य भएका छन् । कक्षा ७ को जम्मा तीन सय सेटमात्रै अंग्रेजी माध्यमको पुस्तक बिक्री भएको कार्यालयले जानकारी दिएको छ । कक्षा ६ को अंग्रेजी माध्यमको पुस्तक २ हजार सेट बिक्री भएको थियो भने कक्षा ८ देखिमाथि अंग्रेजी माध्यमको पुस्तक नै आएको छैन । प्रमुख खतिवडाले भन्न्ुभयो, ती पुस्तक छापिदै छ र केही समयपछि आउने जानकारी पाएका छौ अब पुस्तक आएर विक्री हुने अवस्था छैन । अग्रेजी माध्यमको पुस्तक अब कक्षा ८ देखि माथिको आएमा अर्को वर्ष मात्रै बिक्री हुनेछ उहाले भन्नुभयो ।
जनक शिक्षा सामग्री भरतपुर कार्यालयले ‘चैत २४ गतेबाट पुस्तक बिक्री गर्न थालेको थियो । नेपाली माध्यमको पुस्तक समयमै आएको हुनाले यसपटक नेपाली माध्यम चलाएका सामुदायिक विद्यालयले समयमै पुस्तक पाएका थिए । गत वर्ष १६ करोडको ३५ हजार सेट पुस्तक भरतपुरको प्रादेशिक कार्यालयबाट वितरण भएको थियो ।
कार्यालय प्रमुख खतिवडाले भन्नुभयो, ‘यो वर्ष ६० हजार सेटभन्दामाथि बिक्री भएको छ, २० करोडभन्दा बढीको कारोबार देखिन्छ ।’ जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरबाट चितवन, बारा, पर्सा, रौतहट, मकवानपुर, नवलपरासी सुस्तापूर्व र तनहुँको देवघाट, आँबुखैरहनीमा पाठ्यपुस्तक बिक्री भएको रेकर्ड छ । ‘समयमै पुस्तक आएको हुनाले बिक्री रेकर्ड राम्रो भएको उहाले बताउनुभयो ।
यसपटक जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० सम्मको पुस्तक छापेको थियो । भरतपुरको कार्यालयबाट पनि कक्षा ६ देखि १० सम्मको पुस्तक बिक्री भएको हो । शिशु कक्षादेखि कक्षा ५ सम्मको पुस्तक छपाइका लागि जनकले निजी क्षेत्रलाई जिम्मा दिएको थियो । नेपाली माध्यमको पुस्तक आएपछि बल्ल अंग्रेजी माध्यमको पुस्तक आउन थालेको हो ।
जनक शिक्षा भरतपुरको कार्यालयबाट दर्ता भएका पुस्तक व्यवसायीहरुले मात्र पुस्तक खरिद गरेका थिए । चितवनसहित सात जिल्लामा दर्ता भएका १७२ पुस्तक पसलहरुले पुस्तक खरिद गरेर लगेको कार्यालयले जानकारी दिएको छ । चितवनमा दर्ता भएका ८५ पुस्तक पसलबाट सामुदायिक विद्यालयहरुले पुस्तक खरिद गरेर विद्यार्थीलाई निःशुल्क वितरण गरेका छन ।
समयमै अंग्रेजी माध्यमको पुस्तक नआउँदा अंग्रेजी माध्यम चलाएका सामुदायिक विद्यालयहरुले अन्य पब्लिकेसनको पुस्तक राख्न बाध्य भएका थिए । प्रमुख खतिवडाले भने, ‘कक्षा ६ र ७ को अंग्रेजी माध्यमको पुस्तक आयो तर ढिलो भयो, जसका कारण गोदाममै अर्को वर्षका लागि थन्केर बसेका छन् ।