चितवन १० वैशाख । जारी मतदानमा चितवन निर्वाचन क्षेत्र नं. २ मा ५३ प्रतिशत मत खसेको छ ।
एक लाख २४ हजार छ सय ९५ मतदाता मध्य ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४३ मतदान स्थल र १३८ वटा मतदान केन्द्र मतदान जारी रहेको उहाले बताउनुभयो ।
मतदाताहरुको सहभागिता उत्साजनक रहेको छ प्रमुख कार्कीले भन्नुभयो दिउसो गर्मीमा केही कमी भएपनि ३ बजेपछि केन्द्रमा भिड देखिएको छ । निर्वाचन क्षेत्रको पहाडी स्थानमा पनि मतदाताको उत्साह देखिएको उहाले जानकारी दिनुभयो । मतदान केन्द्र भित्र प्रवेश गर्ने समय ५ बजेसम्म भएपनि स्थलमा प्रवेश गरिसकेका मतदाताले अवेसम्म मत राख्न पाउने उहाले बताउनुभयो । गएको मंसिर ४ गते भएको मतदानमा चितवन जिल्लामा ६५ प्रतिशत मत खसेको थियो ।
चितवन २ मा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन भएको हो । ।